काठमाडौं। आइसिसी यु–१९ महिला विश्वकपमा नेपाली टोलीले अपेक्षाकृत प्रदर्शन हुन सकेन। तर, नेपाललाई यो मञ्चमा डेब्यु गराएकी कप्तान पूजा महतोको व्यक्तिगत प्रदर्शनले भने सबैको ध्यान खिचेको छ।
प्रतियोगितामा नेपालको लक्ष्य बंगलादेश र स्कटल्यान्डलाई पराजित गर्दै सुपर फोरमा स्थान बनाउनु थियो। तर, टोलीले त्यो लक्ष्य प्राप्त गर्न नसके पनि पूजा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा पुगेकी हुन्।
चार इनिङ्समा बलिङ गर्दै पूजाले कुल नौ विकेट लिएकी छन्। उनको उत्कृष्ट प्रदर्शनको झलक शुक्रबार चौथो स्थानको प्लेअफ खेलमा मलेसियाविरुद्ध देखियो। उक्त खेलमा पूजाले मात्र ३.५ ओभर बलिङ गर्दै नौ रन खर्चेर चार विकेट हात पारिन्। प्रतियोगिताभर यो उनको व्यक्तिगत उत्कृष्ट प्रदर्शन रह्यो।
पूजाले प्रतियोगिताभर १४.३ ओभर बलिङ गरिन्। यस अवधिमा उनले एक मेडनसहित ६३ रन मात्र खर्चेर नौ विकेट लिएकी हुन्। उनको बलिङ औसत सात र इकोनोमी दर ४.३४ रह्यो।
श्रीलंकाकी स्पिनर चामोदी प्रबोध र स्कटल्यान्डकी मध्यगतिकी बलर माइसी मासेइराले समान सात विकेटसहित पूजालाई पछ्याइरहेका छन्। यद्यपि, उनीहरूले पूजाभन्दा एक इनिङ्स कम खेलेका छन्। प्रबोधले ११ ओभर बलिङ गर्दै दुई मेडनसहित ४४ रन खर्चेकी छन् भने माइसीले ८.५ ओभरमा ५९ रन खर्चेर सात विकेट लिएकी छन्।