काठमाडौं। कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनसँगै नेपालले आसिसी यु १९ महिला विश्वकपअन्तर्गत चौथो स्थानको प्लेअफमा मलेसियालाई पराजित गरेको छ। शुक्रबार सम्पन्न खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गरेको हो। योसँगै नेपालले विश्वकपमा पहिलो जित हात पारेको छ।
समूहचणमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग पराजित भएको थियो। मलेसियाले दिएको ४६ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा तीन विकेट गुमाउँदै ४७ रन बनायो।
दुई ओपनर सना प्रविन एक र सावित्रा धामी तीन रनमा आउट भए। तर, पूजाले अविजित रहँदै २३ रनको बनाएर नेपाललाई जित दिलाएकी हुन्। ३२ बल खेलेकी उनले चार चौका प्रहार गरिन्। जोत्स्निका मरासिनी सात रनमा आउट हुँदा सिमना केसी चार रनमा अविजित रहिन्।
मलेसियाकी मार्स्याले तीन वकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले १८ रन खर्चिइन्। त्यसअघि जोहोर क्रिकेट एकेडेमी ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन बनायो।
मलेसियाकी नुरिमनले सर्वाधिक १५ रन बनाइन्। २३ बल खेलेकी उनले तीन चौका प्रहार गरिन्। उनीबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नेपालकी पूजाले सर्वाधिक चार विकेट लिइन्। ३.५ ओभर बलिङ गरेकी उनले ९ रन खर्चिइन्। रचनाकुमारी चौधरीले तीन ओभर बलिङ गर्दै एक मेडनसहित पाँच रन खर्चिएर तीन विकेट लिइन्। कप्तान पूजा महतोले दुई र रिया शर्मा र सिमना केसीले समान एक विकेट लिइन्।