काठमाडौं। रेखा रावलले चार विकेट लिएसँगै साबिक विजेता एपिएफ प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको उपाधिनजिक पुगेको छ। शुक्रबार भएको सुपर फोरमा त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै एपिएफले फाइनलमा स्थान पक्का गरेको हो।
एपिएफले आफ्नो समूहमा सुदूरपश्चिमलाई हराएको हुँदा सुपर फोरमा दुई अंक पाइसकेको थियो। त्यसपछि बागमतीलाई दुवैपल्ट १० विकेट र आर्मीलाई ६९ रनले पराजित गर्दै ६ अंक जोडेको हो।
एपिएफले दिएको ११६ रनको लक्ष्य पछ्याएको आर्मीले १७ ओभरमा सबै विकेट गुमाउँदै ४६ रन मात्रै बनाउन सक्यो। एपिएफलाई जित दिलाउन रेखाले सर्वाधिक चार विकेट लिइन्। चार ओभर बलिङ गरेकफ उनले एक मेडनसहित ११ रन खर्चिइन्। सबनम राईले दुई र इन्दु बर्माले एक विकेट लिइन्।
आर्मीकी राधिका पुजराले सर्वाधिक १७ रन बनाएकी थिइन्। २७ बल खेलेकी उनले तीन चौका प्रहार गरिन्। लक्ष्मी साउदले १० रन बनाउँदा अन्य खेलाडीको प्रदर्शन सम्झनयोग्य रहेन।
त्यसअघि धनगढीको कैलालीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको एपिएफले निर्धारित १७ ओभरमा तीन विकेट गुमाउँदै ११५ रन बनाएको थियो। खराब मौसमका कारण खेलको तीन ओभर घटाइएको थियो।
ओपनर राजमती ऐरीले सर्वाधिक ३५ रन बनाइन्। ३५ बल खेलेकी उनले तीन चौका प्रहार गरिन्। कविता जैशी ३४ र कप्तान इन्दु बर्मा १८ रनमा अविजित रहँदा ममता चौधरी ११ र रोमा थापा सात रनमा पेभिलियन फर्किइन्।
आर्मीकी सुस्मिता भूषालले सर्वाधिक दुई विकेट लिइन्। ईश्वरी विष्टको नाममा एक विकेट रह्यो।