काठमाडौं। विभागीय टोली एपिएफले प्रधानमन्त्री कपको सुपर फोरको पहिलो खेलमा बागमती प्रदेशलाई सहजै पराजित गरेको छ।
बिहीबार सम्पन्न खेलमा एपिएफ १० विकेटले विजयी भएको हो। योसँगै एपिएफ फाइनलनजिक पनि पुगेको छ। अब एपिएफले सुपर फोरमा अन्तिम खेल त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ।
बागमतीले दिएको ४३ रनको लक्ष्य पछ्याएको एपिएफले ६.५ ओभरमा कुनै विकेट नगुमाई ४४ रन बनायो। एपिएफकी ममता चौधरीले सर्वाधिक २३ रन बनाइन्। २० बल खेलेकी उनले तीन चौका प्रहार गरिन्। राजमती ऐरीले १४ रनको योगदान दिइन्।
त्यसअघि धनगढीको कैलालीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको बागमतीले निर्धारित १८ ओभरमा आठ विकेट गुमाउँदै ४२ रन बनाएको थियो। खराब मौसमका कारण खेलको दुई ओभर घटाइएको थियो।
बागमतीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। एपिएफकी सुमन विष्टले सर्वाधिक तीन विकेट लिइन्। रेखा रावल र बिनु बूढाको नाममा समान एक विकेट रह्यो।
कविता जैशीले एक विकेट आफ्नो नाममा लेखाइन्।