काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी कप्तान लुसी ह्यामिल्टनले टस जितेर ब्याटिङको गर्ने निर्णय गरेकी हुन्।
बंगलादेश र स्कटल्यान्डलाई पराजित गर्दै सुपर सिक्समा पुग्ने लक्ष्यसहित मलेसिया पुगेको नेपालको प्रदर्शन अपेक्षाकृत हुन सकेन। नेपालले यी दुई खेलमा न ब्याटिङले प्रभाव छोड्न सक्यो, न त बलिङले नै। परिणामस्वरूप नेपाल पहिलो खेलमै बंगलादेशसँग पाँच विकेटको फराकिलो हार बेहोर्न बाध्य भयो।
एसिया कपमा नेपालले यो टोलीविरुद्ध पाँच विकेटको ऐतिहासिक जित हात पारेको थियो। तर, दोस्रो भेटमा भने त्यो चमत्कारी प्रदर्शन देखाउन सकेन। अर्को खेलमा भने स्कटल्यान्डसँग नेपाल एक विकेटले पराजित हुन पुग्यो। ७४ रनको झिनो लक्ष्य स्कटल्यान्डले १० बल बाँकी रहँदा नौ विकेट गुमाएर पूरा गरेको थियो। योसँगै नेपालको सुपर सिक्समा पुग्ने आशाको डोरी चुँडिन पुगेको हो।
अस्टेलियासँग हुने खेलले नेपालको सुपर सिक्स यात्रा कायम राख्ने या टुंग्याउने निर्णय गर्नेछ। अस्ट्रेलियाले अघिल्लोपल्ट पनि विश्वकपमा भारतलाई हराउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।
यसपल्ट पनि अस्ट्रेलिया सोही बाटोमा छ। उसले यसपल्ट स्कटल्यान्डलाई नौ र बंगलादेशलाई दुई विकेटले हराउँदै सुपर सिक्सको यात्रा तय गरिसकेको छ। बंगलादेश र स्कटल्यान्ड भने समान दुई अंकका साथ सुपर सिक्सनजिक छन्। यस्तोमा समूह ‘डी’ मा नेपाललाई अस्ट्रेलियाविरुद्ध फराकिलो जितले मात्रै पर्याप्त हुने छैन, बंगलादेशसँग बुधबार नै खेल्न लागेको स्टकल्यान्डले पनि त्यस्तै हार खेप्नुपर्ने हुन्छ।
तर, नेपाली महिला टोलीले कुनै पनि फर्म्याट या उमेर समूहमा अस्ट्रेलियासँग खेल्न लागेको यो पहिलोपल्ट हो। त्यसमाथि अघिल्लोपल्ट विश्वकप र बिग बास लिग खेलेका केही खेलाडी यो टोलीमा छन्। त्यसैले यो खेल जित्न नेपाललाई चुनौतीपूर्ण हुनेछ।