काठमाडौं। बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)ले आइसिसी च्याम्पियन्स ट्रफीमा आफ्नो खेलाडीले लगाउने भारतीमा जर्सीमा आयोजक ‘पाकिस्तान’ को नाम नलेख्ने भएको छ। योसँगै नयाँ विवाद उत्पन्न भएको छ।
पाकिस्तान र दुबईमा हुने यस प्रतियोगितामा भारतले टिमको जर्सीमा आयोजक राष्ट्र ‘पाकिस्तान’ को नाम नलेख्न भएको हो। यो खबरसँगै पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले आपत्ति जनाएको छ। पाकिस्तान प्रतियोगिताको आधिकारिक आयोजक हो, भारतले आफ्ना खेल दुबईमा खेल्नेछ।
भारतले आफ्नो टोलीलाई पाकिस्तान नपठाउने निर्णय गरेपछि पिसिबी र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले हाइब्रिड मोडल अपनाएको हो। तर, जर्सीमा आयोजकको नाम नलेख्ने विषयले नयाँ विवाद सिर्जना गरेको छ।
आइएएनएससँगको कुराकानीमा एक पीसीबी अधिकारीले बिसिसिआईमाथि क्रिकेटमा राजनीति गरेको आरोप लगाएका छन्। उनले भने, ‘बिसिसिआई क्रिकेटमा राजनीति ल्याउँदैछ, जुन खेलको लागि बिल्कुलै राम्रो होइन। उनीहरूले पाकिस्तानमा खेल्न अस्वीकार गरे।
उनीहरूले आफ्नो कप्तानलाई पनि उद्घाटन समारोहका लागि पाकिस्तान पठाउन चाहँदैनन्। अब आफ्नो जर्सीमा आयोजक राष्ट्र (पाकिस्तान) को नाम पनि लेख्न चाहँदैनन्। विश्व नियामक निकाय (आइसिसी) ले यो हुन दिँदैन र पाकिस्तानको समर्थन गर्नेछ भन्ने कुरामा विश्वास गर्छौं।’
बिसिसिआईले च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीलाई पाकिस्तान नपठाउने आफ्नो अडान राखेको थियो। यद्यपि, पिसिबीले निकै दबाब दिएको थियो। अन्ततः पिसिबीले भारतको सर्त स्वीकार्न बाध्य भयो। यस नयाँ सम्झौताले भविष्यमा आइसिसीका प्रतियोगितामा पिसिबीले आफ्नो टोली भारत नपठाउन पनि पाउने भएको छ।