काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) संगको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटको रुपमा ओपनर ज्ञानेन्द्र मल्ललाई ४४ रनमा गुमाएको छ । ज्ञानेन्द्रलाई जाहोर खानले आउट गरे ।
यसअघि नेपालले पहिलो विकेटको रुपमा बिनोद भण्डारीलाई २१ रनमा गुमाएको थियो । ज्ञानेन्द्र र विनोदले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । यो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालको सर्वाधिक ठुलो स्कोरको साझेदारी हो । यसअघि नेदरल्यान्ड्सविरुद्ध ज्ञानेन्द्र र अनिल कुमार साहले ५८ रनको साझेदारी गरेका थिए ।
ज्ञानेन्द्र आउट भएपछि कप्तान पारस खड्का र दिपेन्द्र सिंह ऐरी क्रिजमा रहेका छन् । नेपालले १९ ओभर सकिदा २ विकेट गुमाएर ७४ रन जोडेको छ ।
पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्दै सिरिज १-१ गर्न चाहन्छ । पहिलो एकदिवसीय सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई युएईसंगको दोस्रो खेल निकै महत्वपूर्ण रहेको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलीरहेको नेपाललाई सिरिज जोगाउन जित्नै पर्ने दबाब छ ।