काठमाडौं। कोशी प्रदेशमाथि सानदार जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सुपर फोरमा पुगेको छ। बुधबार भएको खेलमा आर्मी ९ विकेटले विजयी भएको हो।
योसँगै तीन खेलमा चार अंक जोडेको आर्मीले समूह ‘बी’ बाट सुपार फोरमा स्थान पक्का गरेको हो। पहिलो हार बेहोरेको कोशीको पनि चार अंक नै छ । तर, नेट रनरेटमा कोशी पछाडी छ।
यसअघि मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको आर्मीले बागमतीसँग १४ रनको हार बेहोरेको थियो । कोशीले बागमतीलाई १० रन र मधेशलाई ४७ रनले पराजित गरेको थियो। अहिले नै भइरहेको बागमती र मधेशविरुद्धको खेलले कोशीको आगामी यात्रा तय गर्नेछ।
कोशीले दिएको ४७ रनको लक्ष्य पछ्याएको आर्मीले चार बल बाँकी रहँदा एक विकेट गुमाएर ४० रन बनायो। आर्मीकी ओपनर सम्झना खड्काले अविजित रहँदै सर्वाधिक ३२ रन बनाइन्। अञ्जली विश्वकर्मा ६ रनमा आउट हुँदा रुवि पोद्दर एक रनमा अविजित रहिन्।
त्यसअघि धनगढीको कैलालीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कोशीले निर्धारित सात ओभरमा पाँच विकेट गुमाउँदै ३६ रन बनाएको थियो। खराब मौसमका कारण सात/सात ओभरको खेल खेलाइएको हो।
कोशीकी सम्मृति कटुवालले सर्वाधिक १४ रन बनाइन्। १३ बल खेलेकी उनले एक चौका प्रहार गरिन्। उनीबाहेक अन्य कोही खेलाडी क्रिजमा जम्न सकेनन्।
आर्मीकी मनीषा उपाध्ययले सर्वाधिक तीन विकेट लिइन्। सुस्मिता भुषालको नाममा दुई विकेट रह्यो।