काठमाडौं। ऋषभ पन्त लखनऊ सुपर जाइन्ट्स (एलएसजी) को कप्तानमा नियुक्त भएका छन्।
एलएसजीले नोभेम्बर २०२४ को अक्सनमा पन्तलाई २७ करो भारुमा किनेको थियो। उनी इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासकै सबैभन्दा महँगा खेलाडी हुन्।
पन्त एलएसजीको दोस्रो कप्तान हुन्। यसअघि केएल राहुलले सन् २०२२ देखि २०२४ सम्म यो टोलीको जिम्मेवारी सम्हालेका थिए। उनको कप्तानीमा टोली पहिलो दुई वर्षमा प्लेअफमा पनि पुगेको थियो। तर, २०२४ मा टोली सातौं स्थानमा रह्यो र एक खेलको क्रममा कप्तान राहुल र टोलीका मालिक सञ्जीव गोयन्काबीच टिभीमा गम्भीर विवाद भएको देखियो। यसपछि राहुल अक्सनतर्फ लागे, जहाँ उनलाई पन्तको पुरानो टोली दिल्ली क्यापिटल्स (डिसी) ले किनेको थियो।
पन्तको कप्तानी हुने यो दोस्रो आईपीएल टोली हो। यसअघि उनले सन् २०२१, २०२२ र २०२४ सिजनमा उनले डिसीको कप्तानी सम्हालेका थिए। उनले चोटका कारण सन् २०२३ मा खेल्न पाएनन्। कप्तानीका कारण पन्तले डिसी छाड्ने निर्णय गरेका थिए। किनभने डिसीले उनलाई राख्न चाहन्थे तर कप्तानी दिन चाहेका थिएनन्।
एलएसजीले निकोलस पुरन, आयुष बडोनी, मोहसिन खान, रवि बिश्नोई र मयंक यादव गरी पाँच खेलाडीलाई रिटेन गरेको थियो। त्यसपछि उनीहरुले अक्सनमा डेभिड मिलर, मिचेल मार्स र एडेन मार्करामजस्ता विदेशी खेलाडी किने।
पुरनसँगै यी तीन खेलाडी पनि कप्तानको विकल्प थिए। तर, अन्ततः फ्रेन्चाइजले पन्तसँग जाने निर्णय गर्यो।