काठमाडौं। एन्फा महिला लिगको पहिलो क्वालिफायरमा स्थान बनाइसकेको एपिएफले अपराजित रहँदै फाइनल राउन्डको अन्त्य गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न विभागीय डर्बीमा एपिएफले नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै ‘लिग डबल’ गरेको हो। पहिलो लेगमा एपिएफले यही टोलीमाथि आधा दर्जन गोल गरेको थियो।
यसपल्ट एपिएफलाई जित दिलाउन रश्मिकुमारी घिसिङ र अनिता केसीले समान एक गोल गरिन्। यी दुवै गोलमा सविता रानमगरको एसिस्ट रह्यो। उनी नै ‘प्लेअर अफ द म्याच’ रहिन्।
योसँगै शीर्ष स्थानको एपिएफले सात खेलबाट २१ अंक पुर्यायो। अब एपिएफले सिधै फाइनलमा पुग्न त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ। पुलिस भने सात खेलबाट ११ अंकसहित तेस्रो स्थानमा रह्यो। पुलिसले दोस्रो क्वालिफायरमा स्थान बनाउन बागमती युथ क्लबसँग खेल्ने छ।
खेलको १७औं मिनेटमै रश्मिले एपिएफलाई सुरुआती अग्रता दिलाएकी थिइन्। सविता रानामगरको क्रसमा रश्मिले हेडरमार्फत गोल गरिन्। रश्मिको जारी प्रतियोगितामा यो ३२औं गोल हो। त्यसपछि लामो समय पुलिसले एपिएफलाई रोकेको थियो। तर, ६४औं मिनेटमा सविताले राइट साइडबाट दिएको क्रसमा अनितले फ्रि हेडरमार्फत नै गोल गरिन्।