काठमाडौं। कप्तान कञ्चन श्रेष्ठको अलराउन्ड प्रदर्शनसँगै बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ। सोमबार सम्पन्न खेलमा बागमतीले १४ रनको जित हासिल गरेको हो।
बागमतीले दिएको ८२ रनको लक्ष्य पछ्याएको आर्मीले १३.२ ओभरमा सबै विकेट गुमाउँदै ६७ रन मात्रै बनाउन सक्यो। जारी प्रतियोगितामा बागमतीको यो पहिलो जित हो। समूह बी मा रहेको बागमती पहिलो खेलमा कोशी प्रदेशसँग १० रनले पराजित भएको थियो।
आर्मीले भने मधेश प्रदेशलाई १० विकेटले पाखा लगाएको थियो। आर्मीकी ओपनर अञ्जली विश्वकर्माले सर्वाधिक १४ रन बनाइन्। १६ बल खेलेकी उनले दुई चौका प्रहार गरिन्। नगिमा तामाङ १३ र कप्तान लक्ष्मी साउद १० रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बागमतीकी सोनु खड्का, मनीषा उपाध्यय र कञ्चनले समान दुई विकेट लिए। संस्कृति फुँयाल र विपिशा शाहीको नाममा एक/एक विकेट रह्यो।
त्यसअघि धनगढीको कैलालीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको बागमतीले निर्धारित १५ ओभरमा दुई विकेट गुमाउँदै ८१ रन बनाएको थियो। खराब मौसमका कारण खेलको पाँच ओभर घटाइएको थियो।
ओपनर हिलिशा गुरुङले खाता खोल्न सकिनन्। तर, अर्की ओपनर यशु पाण्डे र कप्तान कञ्चनले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गर्दै बागमतीको इनिङ्स उकासे। ३२ बल खेलेकी यशुले चार चौकासहित २५ रन बनाइन्। कञ्चन २४ र यशोदा विष्ट २० रनमा अविजित रहे।
आर्मीका ईश्वरी विष्ट र लक्ष्मी साउदले समान एक विकेट आफ्नो नाममा लेखाए।