काठमाडौं। ढाकाको एक अदालतले बंगलादेशका अलराउन्डर तथा अवामी लिगका पूर्वसांसद शाकिब अल हसनविरुद्ध बैंक चेक बाउन्सको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ। अपदस्थ प्रधानमन्त्री शेख हसिना गत वर्ष नागरिक आन्दोलनका कारण देश छोड्न बाध्य भएपछि शाकिब आफ्नो ज्यानको खतरा हुने डरले बंगलादेश फर्केका छैनन्।
एक कृषि फार्मका अध्यक्षसमेत रहेका हसन चेक बाउन्ससम्बन्धी मुद्दामा यसअघिको आदेशअनुसार अदालतमा उपस्थित नभएकाले वारेन्ट जारी गरिएको अदालतका एक अधिकारीले बताए। फार्मका प्रबन्ध निर्देशक गाजी शाहगीर हुसेनविरुद्ध पनि यस्तै वारेन्ट जारी गरिएको थियो। उनले पनि समयमा जवाफ दिएनन्।
इन्टरनेसनल फाइनान्स इन्भेस्टमेन्ट एन्ड कमर्स (आइएफआइसी) बैंकले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। चेक बाउन्स प्रकरणमा आइएफआइसी बैंकले गत वर्ष अक्टोबरमा कानूनी नोटिस जारी गरेको थियो। गत डिसेम्बर २४ मा क्रिकेटरबाट व्यवसायी बनेका उनी र उनको कम्पनीका अन्य तीन अधिकारीविरुद्ध मुद्दा दर्ता गरिएको थियो।
फार्मका दुई अधिकारीले अदालतसमक्ष आत्मसमर्पण गरे र जमानतका लागि निवेदन दिए, जुन सुनुवाइपछि अदालतले स्वीकृत गरेको थियो। बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शाकिबले सन् २०१६ मा दक्षिणपश्चिम सातखिरामा शाकिब अल हसन एग्रो फार्म नामक केकडा फार्म स्थापना गरेका थिए। कम्पनी सन् २०२१ देखि निष्क्रिय अवस्थामा रहेको बताइएको छ।
बंगलादेशका सर्वकालिक महान क्रिकेटरमध्येका एक शाकिबले आफ्नो अन्तिम टेस्ट भारतविरुद्ध कानपुरमा खेलेका थिए। दुबईमा हुने च्याम्पियन्स ट्रफी बंगलादेशका लागि उनको अन्तिम खेल मानिएको छ। शंकास्पद बलिङ एक्सनका कारण उनलाई हाल क्रिकेटको सबै फर्म्याटमा बलिङ गर्न प्रतिबन्ध लगाइएको छ।
हाल अमेरिकामा बस्दै आएका उनी सन् २०२४ को जनवरी ७ मा भएको चुनावमा अवामी लिगको टिकटमा सांसद निर्वाचित भएका थिए।