इलाम। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले इलामको माई नगरपालिकामा क्रिकेट मैदान निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। शनिबार माई–४ को पूर्वलडाकु रहेको स्थानमा निर्माणाधीन अस्थायी क्रिकेट मैदानलाई कानुनी प्रक्रिया बुझेर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
अध्यक्ष चन्दले क्रिकेट खेलको विकासको निम्ति आवश्यक सहयोग गर्ने बताए। नमुना सामुदायिक वन उपभोक्ता समूह माई–४ का अध्यक्ष केशव दाहालको अध्यक्षतामा सम्पन्न संक्षिप्त कार्यक्रममा माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बूले क्रिकेट खेलको विकासका लागि नगरले सहयोग गर्ने बताए। कार्यक्रममा क्यानका उपाध्यक्ष रोशन सिंह, प्रदेश अध्यक्ष सर्वजितराज पाण्डे, केन्द्रीय सदस्य अर्जुन पौडेल, प्रदेश सचिव टिकराम पुरीसहित विभिन्न जिल्लाका अध्यक्ष, पदाधिकारी, जनप्रतिनिधि, खेलाडी र स्थानीयको उपस्थिति रहेको थियो।