काठमाडौं। डार्विन नुनेजले इन्जुरी समयमा दुई गोल गर्दै लिभरपुललाई ब्रेन्टफोर्डविरुद्ध शनिबार २–० को जित दिलाए। योसँगै प्रिमियर लिगमा लिभरपुलले शीर्ष स्थानमा पकड बलियो बनाएको छ।
दोस्रो स्थानको आर्सनलले एस्टन भिल्लासँग २–२ को बराबरी खेलेपछि लिभरपुलले ६ अंकको अग्रता लिएको छ। २२ खेलबाट आर्सनलको ४४ अंक छ। तर, एक खेल कम खेलेको लिभरपुलको ५० अंक छ।
नुनेज ६५औं मिनेटमा सब्स्टिच्युटका रूपमा मैदान छिर्नेबित्तिकै ब्रेन्टफोर्डका समर्थकहरूले आलोचना गरेका थिए। तर, उरुग्वेयन स्ट्राइकरले पहिलो इन्जुरी समयको पहिलो मिनेटमा ट्रेन्ट अलेक्ज्यान्डर–अर्नोल्डको क्रसलाई जाली चुमाउँदै जवाफ दिए।
त्यसपछि नुनेजले दुई मिनेटपछि काउन्टर अट्याकमा अर्को गोल गर्दै लिभरपुललाई तीन लिग खेलमा पहिलो जित दिलाए।यसअघि लिभरपुलले म्यानचेस्टर युनाइटेड र नटिङ्घम फरेस्टसँग बराबरी गर्दै टोटनह्यामसँगको लिग कप सेमिफाइनलको पहिलो लेगमा हार बेहोरेको थियो।
लिभरपुलले यो सिजनमा मात्र एक लिग खेल हारेको छ, सेप्टेम्बरमा फरेस्टसँग। ब्रेन्टफोर्डविरुद्धको खेलमा लिभरपुलले ३७ पटक प्रहार गरेको थियो। तर, अन्तिम दुई प्रहारमा गोल गर्न सफल भयो।