काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टिममा तीन नयाँ अनुहारले मौका पाएका छन् । उमेर समुहको प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आएका तीन खेलाडीले राष्ट्रिय टिममा स्थान बनाएका छन् ।
नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले भारतको उडिसा भुवनेश्वरमा हुने अन्तराष्ट्रिय प्रतियोगिताको लागि यु–१९ का तीन खेलाडीलाई समावेश गरेका छन् ।
नयाँ अनुहारमा पुलिस क्लबकी गोलकिपर उषा नाथ, त्रिभुवन आर्मी डिफेन्डर पुजा राना र एपीएफकी स्ट्राइकर रेखा पौडेल रहेका छन् ।
तीनै जना खेलाडीले पहिलो पटक टिममा स्थान बनाएका हुन् ।
यु–१८ साफ नेपाललाई उपविजेता बनाउन सफल र एएफसी च्याम्पियनसिपमा छनोट गराउन सफल तीन खेलाडीले २३ सदस्यीय राष्ट्रिय टिममा आफुलाई अटाउन सफल भएका हुन् । तीन खेलाडीको आगमनसंगै ओलम्पिक दोस्रो चरणमा टिममा रहेका दिपा न्यौपाने र रुपा राना मगर टिमबाट बाहिर परेका छन् ।
उडिसाको भुवनेश्वरमा फेब्रुअरी ७ देखी १७ सम्म आयोजना हुने प्रतियोगितामा नेपाल आयोजक भारत सहित म्यानमार र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् । आसन्न साफ र ओलम्पिकको तयारी स्वरुप भारतीय फुटबल महासंघले प्रतियोगिताको आयोजना गरेको हो ।
नेपाली टिमका खेलाडीको नामावली :
गोलकिपर : एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर : हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना, मनमाया लिम्वु
मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी, अनिता के सी
स्ट्राइकर : अनु लामा, रेखा पौडेल, निरु थापा, सावित्रा भण्डारी