काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को आयोजनामा हुने जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता आठ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।
आयोजक नेविसंघले बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालका चार, भारतका तीन र बंगलादेशबाट एक टोलीले सहभागी जनाउने जानकारी दिएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता माघ ७ गतेबाट सुरु हुनेछ। नौ दिनसम्म चल्ने प्रतियोगिता लिग कम नकआउटका आधारमा संन्चालन हुने प्रतियोगिता संयोजक गणेश थापाले जानकारी दिए।
उनका अनुसार नेपालबाट त्रिभुवन, मध्यपश्चिम, काठमाडौं र पूर्वाञ्चल विश्वविद्यालयले प्रतियोगितामा सहभागिता जनाउने छन्।
भारतबाट भारतबाट दिल्ली, लखनउ र बिहार विश्वविद्यालयले सहभागिता जनाउने पक्का भएको छ। यस्तै, बंगलादेशको ढाका विश्वविद्यालयले पनि प्रतियोगिता खेल्नेछ।
यी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ। प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रूपैयाँ पाउने आयोजकले जनाएको छ।