काठमाडौं। कविता कुँवरको अलराउन्ड प्रदर्शनसँगै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। बुधबार भएको समूह ए को दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ७५ रनले पराजित गरेको हो।
जितसँगै सुदूरपश्चिमले दुई खेलबाट चार अंक पुर्याएको छ। यसअघि सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटले पराजि गरेको थियो। लुम्बिनीले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।
सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन मात्रै बनाउन सक्यो। कविताले ब्याटिङतर्फ अर्धशतक र बलिङतर्फ एक विकेट लिइन्।
लुम्बिनीकी सरस्वती पुनले सर्वाधिक १४ रन बनाइन्। कप्तान सरस्वती जिएम १२ रनमा आउट हुँदा अन्यले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।
सुदूरपश्चिमकी रेवती धामीले सर्वाधिक तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले एक मेडनसहित सात रन खर्चिइन्। आसशिका महराले दुई विकेट लिँदा कविता, ऋतु कौन्जिया, करिष्मा थापा र जानकी थापाको नाममा समान एक/एक विकेट रह्यो।