काठमाडौं। कप्तान इन्दु बर्माको लगातार उत्कृष्ट प्रदर्शनसँगै साबिक विजेता एपिएफले प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेटमा लगातर दोस्रो जित हासिल गरेको छ। बुधबार भएको खेलमा एपिएफले गण्डकी प्रदेशलाई आठ विकेटले हराएको हो।
जितसँगै एपिएफले दुई खेलबाट चार अंक पुर्याएको छ। पहिलो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १११ रनले हराएको थियो। गण्डकीको भने यो लगातार दोस्रो हार हो।
पहिलो खेलमा गण्डकी सुदूरपश्चिम प्रदेशसँग सात विकेटले पराजित भएको थियो। गण्डकीले दिएको ७१ रनको लक्ष्य एपिएफले ९.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो।
एपिएफको जितमा इन्दुले अविजित रहँदै सर्वाधिक २६ रन बनाइन्। २१ बल खेलेकी उनले दुई चौका प्रहार गरिन्। यसअघि उनले कर्णाली प्रदेशविरुद्ध पनि अविजित ५२ रनको इनिङ्स खेलेकी थिइन्।
ममता चौधरी १८ र राजमती ऐरी आठ रनमा आउट हुँदा रोमा थापा १४ रनमा अविजित रहिन्। गण्डकीकी आकृति तिवारी र यशोदा भुजेलले समान एक विकेट लिइन्।
त्यसअघि फाफ्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको गण्डकीले १५ ओभरमा पाँच विकेट गुमाउँदै ७० रन मात्रै बनाउन सक्यो। खराब मौसमका कारण खेलको पाँच ओभर घटाइएको थियो।
गण्डकीकी कप्तान सिर्जना पौडेलले सर्वाधिक २५ रन बनाइन्। ३४ बल खेलेकी उनले एक चौका प्रहार गरिन्। रेखा तामाङ १७ र श्रेया शाही १३ रनमा आउट हुँदा अन्य ब्याटर चल्न सकेनन्।
एपिएफकी बिन्दु बूढाले सर्वाधिक दुई विकेट लिइन्। उनले तीन ओभरमा ६ रन मात्रै खर्चिइन्। करुणा भण्डारीको नाममा एक विकेट रह्यो।