काठमाडौं। रिया शर्माको सानदार बलिङका बाबजुद नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ। आइसिसी यु–१९ महिला टी–२० विश्वकपको तयारीस्वरुप नेपालले बुधबार अमेरिकासँग अभ्यास खेल खेलेको हो।
तर, अमेरिकासँग नेपाल पाँच विकेटले सहजै पराजित भयो। नेपालले दिएको ५९ रनको सामान्य लक्ष्य अमेरिकाले १४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो। नेपाल पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको थियो।
अमेरिकाले १४ रन बनाउँदा नै ओपनरद्वय दिशा धिन्ग्रालाई नौ र चेतना रेड्डीलाई एक रनमा गुमाएको थियो। दिशा र चेतना दुवैलाई रिया शर्माले आउट गराइन्।
तर, इशानी भाग्हेला र पूजा साहले तेस्रो विकेटका लागि २६ रनको साझेदारी गर्दै अमेरिकालाई जितनजिक पुर्याइन्। पूजा नवौं ओभरको तेस्रो बलमा रियाबाट १० रनमा बोल्ड भइन्।
इशानी २४ रनमा रिटायर्ड आउट हुँदा र साशा चार रनमा पेभिलियन फर्किन्। चेतना प्रशाद पाँच र निखार डोशी तीन रनमा अविजित रहिन्।
चार ओभर बलिङ गरेकी रियाले तीन विकेट लिइन्। उनले १५ रन खर्चिइन्। कप्तान पूजा महतोको नाममा एक विकेट रह्यो।
त्यसअघि रोयल सेलान्गोर क्लब, क्वालालम्पुरमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ५८ रन बनायो।
ओपनर सना प्रविणले बनाएको १२ रन नै सर्वाधिक रह्यो। उनले २५ बल खेलिन्। कप्तान पूजा महतो १० रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
अमेरिकाका ऋतु सिंह, सुहानी थाडानी, इशानी भाग्हेला, सान्भी इम्मादी र पूजा साहले समान एक विकेट लिए।