निजगढ। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न मधेस प्रदेशको टोली घोषणा भएको छ।
धनगढीमा जारी प्रतियोगिता खेल्न मधेस प्रदेश क्रिकेट संघले मंगलबार सरस्वती चौधरीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो। मधेस प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामार्फत संघले खेलाडीको छनोट गरेको हो।
संघले कलैयाको सिद्धेश्वर खेल मैदानमा आयोजना गरेको प्रतियोगितामा मधेसका ८ वटा जिल्लाले प्रतिस्पर्धा गरेका थिए। सो प्रतियोगिताको उपाधि सप्तरी जिल्लाले जितेको थियो। राष्ट्रियस्तरको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा ७ वटा प्रदेश र २ वटा विभागीय टोली गरी कुल ९ वटा टोली समावेश छ।
प्रतियोगितामा सहभागी टोलीहरूलाई २ वटा समूहमा विभाजन गरिएको। पहिलो समूहमा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश ,कर्णाली प्रदेश ,सुदूरपश्चिम प्रदेश र नेपाल एपीएफ क्लब रहेको छ भने दोस्रो समूहमा कोसी प्रदेश,मधेस प्रदेश,बाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लब छ।
प्रतियोगिताको लिग चरणमा मधेस प्रदेशले आफ्नो पहिलो खेल माघ ६ गते आइतबार विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ भने दोस्रो खेल माघ ७ गते सोमबार कोसी प्रदेशसँग र तेस्रो खेल माघ ८ गते बाग्मती प्रदेशसँग खेल्नेछ। माघ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण खेलहरू कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
मधेस प्रदेश टोली
सरस्वती चौधरी ( कप्तान ), साक्षी यादव ( उपकप्तान ), प्रतिमा साह, चाँदनी खातुन, भूमि सिंह, मोनिका साह, श्रेया थापा, अनु चौधरी, वन्दना रजक, रोजी कडारी, शिवानी साह, सीमा कुवर, प्रज्ञा क्षेत्री र दीपा राम
प्रशिक्षक :- विकल विष्ट, व्यवस्थापक :- विनय यादव र फिजियो/ भिडियो एनालिस्ट :- समीर नेपाल