एजेन्सी । स्पेनिस ला लिगा फुटबलको २१ औं चरणको खेलहरु शनिबारबाट सुरु हुँदैछ । लिगको २० औं चरणको खेल सकिदा बार्सिलोना शीर्ष स्थानमा रहेको छ ।
बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडमाथि ५ अंकको अग्रता बनाउदै शीर्ष ओगटेको हो । बार्सिलोनाको ४६ अंक रहदा एट्लेटिकोको ४१ अंक छ । यस्तै रियल मड्रिड तेस्रो, सेभिया चौथो र डिपोर्टिभो अलाभेस पाँचौ स्थानमा रहेका छन् ।
ला लिगाको २० औं चरणको खेल सकिदाको तथ्यांक हेर्दा सर्वाधिक गोलकर्ताको सूचीमा लियोनल मेस्सी रहेका छन् । यस्तै लुइस स्वारेज दोस्रो स्थानमा छन् ।
यस सिजनको ला लिगाको तथ्यांकमा कोको अघि रहेको छ त ? जान्नुहोस् :
गोलकर्ता : यस सिजन ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी शीर्ष स्थानमा रहेका छन् । अघिल्लो सिजनको सर्वाधिक गोलकर्ता बनेका मेस्सीले यस सिजन १८ गोल गरेका छन् । दोस्रो स्थानमा रहेका बर्सिलोनाकै लूइस स्वारेज १५ गोल छन् । यस्तै जिरोनाका उरुगेली फरवार्ड क्रिष्टियन स्टुआनी १२ गोल गर्दै तेस्रो स्थानमा रहेका छन्।
असिस्ट : सर्वाधिक गोलकर्तामा पहिलो स्थानमा रहेका बार्सिलोनाका मेस्सी नै गोलका लागि पास उपलब्ध गराउने खेलाडीको सूचीमा पनि अग्रस्थानमा रहेका छन् । मेस्सीले १० गोलका लागि पास उपलब्ध गराएका छन् । एट्लेटिको मड्रिडका विंगर एन्टोनियो ग्रिजम्यान ७ गोलका लागि पास उपलब्ध गराउदै दोस्रो स्थानमा रहेका छन् । सेल्टाका मिडफिल्डर ब्राइस मेंडेस, बार्सिलोनाका रक्षक जोर्डी अल्बा र सेभियाका पाब्लो सरावियाले ६-६ गोलका लागि पास उपलब्ध गराउदै संयुक्त रुपमा तेस्रो स्थानमा रहेका छन् ।
पास : रियल बेटिसका रक्षक आइस्सा मेन्डीले जारी ला लिगामा सर्वाधिक पास उपलब्ध गराएका छन् । उनले १ हजार ५ सय ५२ पास खेलेका छन् । दोस्रो स्थानमा रहेका बार्सिलोनाका मिडफिल्डर इभान राकिटिचले १ हजार ४ सय ८३ पास खेलेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका बार्सिलोनाकै रक्षक जेरार्ड पिकेले १ हजार ४ सय ५५ पास खेलेका छन् ।
क्लिन सिट : जारी सिजनमा अंक तालिकाको दोस्रो स्थानमा रहेको एट्लेटिकोका गोलरक्षक जान ओब्लाक सर्वाधिक खेलमा गोल नखाने किपरको सूचीमा पहिलो स्थानमा रहेका छन्। उनले १० खेलमा गोल खाएका छैनन्। संयुक्त रुपमा दोस्रो स्थानमा रहेका गेटाफेका डेविड सोरिया, बार्सिलोनाका टेर स्टेगान र रियल मड्रिडका थिबाउ कोर्टुवाले समान ७ -७ खेलमा कुनै गोल खाएका छैनन् ।
स्पानियोलका डिएगो लोपेज , आलाभेसका फर्नान्डो पाकियो, भालाडोलिडका जोर्डी मासिप र रियाल बेटिसका पाउ लोपेज ६ खेलमा कुनै गोल नखादै संयुक्त रुपमा सचीको तेस्रो स्थानमा रहेका छन्।