काठमाडौं। ममता चौधरी र कप्तान इन्दु बर्माको अविजित अर्धशतकीय इनिङ्ससँगै विभागीय टोली एपिएफले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सानदार जितसहित विजयी सुरुआत गरेको छ।
सोमबार सम्पन्न खेलमा साबिक विजेता एपिएफले कर्णाली प्रदेशलाई १११ रनले हराएको हो। एपिएफले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको साबिक उपविजेता कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७१ रन मात्रै बनाउन सकयो।
कर्णालीकी दिक्क्षा पुरीले सर्वाधिक १७ रन बनाइन्। २० बल खेलेकी उनले दुई चौका प्रहार गरिन्। रमा बूढाथोकी १० रनमा आउट हुँदा गौरी बोहरा १० रनमा अविजित रहिन्। अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
एपिएफकी स्पिनर करूणा भण्डारीले सर्वाधिक तीन विकेट लिइन्। चार ओभर बलिङ गरेका उनले ११ रन मात्रै खर्चिइन्। रेखा रावल, सुमना विष्ट र बिनु बूढाको नाममा समान एक विकेट रह्यो।
त्यसअघि धनगढीस्थित फाफ्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एपिएफले २० ओभरमा एक विकेट गुमाउँदै १८२ रन बनायो। ओपनर राजमती ऐरी २२ रनमा आउट भए पनि ममता र इन्दुले दोस्रो विकेट लागि १५८ रनको विशाल साझेदारी गरे।
६६ बलमा १० चौकासहित ममता ७८ रनमा अविजित रहिन्। इन्दुले ३४ बलमा सात चौकासहित ५२ रन बनाइन्।