काठमाडौं। रेवती धामीको अलराउन्ड प्रदर्शनसँगै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ। सोमबार सम्पन्न खेलमा सुदूरपश्चिमले सात विकेटको जित हात पारेको हो।
गण्डकीले दिएको ५६ रनको लक्ष्य सुदूरपश्चिमले ९.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। रेवतीले बलिङमा चार विकेट लिइन्। ब्याटिङमा ओपनिङमा उत्रिएकी उनले अविजित २१ रन जोडिन्। २७ बल खेलेकी उनले दुई चौका प्रहार गरिन्।
मनिषा बोहरा नौ, कप्तान विन्दु रावल ६ र कविता कुँवर आठ रनमा आउट हुँदा सोभा रोकायाले अविजित चार रन बनाइन्। गण्डकीका आकृति तिवारी र अपेक्षा बूढाथोकीले समान एक विकेट हात पारे।
त्यसअघि धनगढीस्थित फाफ्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको गण्डकी प्रदेशले १५ ओभरमा सबै विकेट गुमाउँदै ५५ रन मात्रै बनाउन सक्यो। खराब मौसमका कारण खेल पाँच ओभर घटाइएको थियो। त्यो ५५ रनमा पनि सुदूरपश्चिमका बलर १८ रन अतिरिक्त थपिदिएका हुन्।
गण्डकीकी रेखा तामाङले सर्वाधिक १३ रन बनाइन्। कप्तान सिर्जना पौडलले १० रनको योगदान दिइन्। अन्यले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।
सुदूरपश्चिमकी रेवतीले सर्वाधिक चार विकेट लिइन्। तीन ओभर बलिङ गरेकी उनले नौ रन मात्रै खर्चिइन्। जानकी थापा र ऋतु कौन्जियाको नाममा समान एक विकेट रह्यो।