काठमाडौं। राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेसहित नेपालका सात नेपाली खेलाडी पाकिस्तान सुपर लिग (पिएसएल) को अक्सनमा अनसोल्ड भएका छन्। लाहोरको हुजुरी बगैंचामा भएको अक्सनमा कुनै पनि नेपाली खेलाडीलाई टोलीले पिक गरेनन्।
पाकिस्तान क्रिकेट बोर्डले सार्वजनिक गरेको पिएसएको ड्राफ्ट लिस्टमा लेग स्पिनर सन्दीप लामिछाने डायमन्ड क्याटोगोरी थिए। अलराउन्डर दीपेन्द्रसिंह ऐरीसहित आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुल्शनकुमार झा र सोमपाल कामी सिल्भर क्याटोगोरीमा थिए।
सन् २०२१ को पिएसएल ड्राफ्टमा पनि सन्दीप र सोमपालसहित ११ खेलाडी थिए। प्लाटिनममा सन्दीप र गोल्ड क्याटेगोरीमा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी ड्राफ्टमा परेका थिए।
सोमपालसहित सुशन भारी, शरद भेषावकर, सुवास खकुरेल, ललितनारायण राजवंशी, पवन सरार्फ, बसन्त रेग्मी, विक्रम सोब र सहाब आलम भने सिल्भर क्याटेगोरीमा थिए। तर, कोही बिकेका थिएनन्।
गत वर्ष भने नेपालबाट आठ खेलाडी पिएसएलको ड्राफ्टमा परे। देव, आसिफ, आरिफ शेख, अर्जुन, दीपेन्द्र, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल परे पनि बिक्री भएनन्।
पिएसएलमा इस्लामाबाद युनाइटेड, कराँची किङ्स, लाहोर ग्लाडर्स, मुल्तान सुल्तान, पेसेवर जल्मी, क्वेटा ग्लाडियटर्स गरि ६ टिम सहभागी छन्। पिएसएल २०२५ आगामी अप्रिलदेखि मेसम्म हुनेछ।