काठमाडौं। प्याट कमिन्स र जोस हेजलवुड सन् २०२५ को च्याम्पियन्स ट्रफीका लागि अस्ट्रेलियाको टोलीमा फर्किएका छन्। दुवै खेलाडी विभिन्न कारणले अस्ट्रेलियाको श्रीलंकाको टेस्ट भ्रमणमा जाने छैनन्।
कमिन्सले टोलीको नेतृत्व गर्नेछन्, जो हाल आफ्नो दोस्रो सन्तान जन्मका कारण बिदामा छन्। तर, यो बिदामा उनको घुँडाको पनि स्क्यान गरिने छ। उनको घुँडामा केही समस्या छ। तर, यही समस्याका साथ उनले भारतविरुद्धको पाँच टेस्टको बोर्डर–गावस्कर शृंखलामा बलिङ गरेका थिए।
अस्ट्रेलियाका मुख्य छनोटकर्ता जर्ज बेली उनको रिपोर्ट पर्खिरहेका छन्। यदि टोलीमा केही परिवर्तन आवश्यक भएमा नियम अनुसार अर्को चार हप्तासम्म गर्न सकिन्छ। हेजलउड अझै आफ्नो पैतालाको चोटबाट पूर्ण रूपमा निको भइसकेका छैनन्। तर, उनी च्याम्पियन्स ट्रफीका लागि फिट हुने सम्भावना छ।
१५ सदस्यीय टोलीमा अलराउन्डर आरोन हार्डी र म्याथ्यु सर्ट पनि समेटिएका छन्। टोलीमा एलेक्स केरी र जोश इंगलिस दुई विकेटकिपर ब्याट्सम्यान छन्। क्यारीले टोलीमा ब्याटरको भूमिका पनि खेल्न सक्छन्।
नाथन एलिस टोलीका चौथो बलर हुन्। टोलीमा एडम जाम्पासँगै ग्लेन म्याक्सवेल र सर्टले स्पिनको कमाण्ड सम्हाल्नेछन्। युवा ओपनिङ ब्याट्सम्यान जेक फ्रेजर–म्याकगुर्कले टोलीमा स्थान बनाउन सकेनन्। बिबिएलमा उनको फार्म पनि खस्किएको थियो। उनले आठ इनिङ्समा २६ रन मात्र बनाएका छन्। अस्ट्रेलियाले टेस्ट शृंखलापछि श्रीलंकासँग एक एकदिवसीय खेल पनि खेल्ने छ। त्यसपछि टोली पाकिस्तान प्रस्थान गर्नेछ। अस्ट्रेलियाको समूहमा इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान छ।
अस्ट्रेलियाको टोली
प्याट कमिन्स (कप्तान), एलेक्स केरी, नाथन एलिस, आरोन हार्डी, जोस हेजलवुड, ट्राभिस हेड, जोश इंगलिस, मार्नस लाबुस्चेन, मिचेल मार्स, ग्लेन म्याक्सवेल, म्याथ्यु सर्ट, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस र एडम जाम्पा