काठमाडौं। अमित श्रेष्ठ र अर्जुन साउदको अर्धशतकसँगै विभागीय टोली नेपाल पुलिस क्लबले जय टफी पुरुष इलिट कपमा बागमती प्रदेशविरुद्ध ९५ रनको अग्रता लिएको छ।
जनकपुरस्थित रामजानकी बहुद्देशीय रंगशालामा जारी खेलको पहिलो दिनको समाप्तीमा बागमतीले पहिलो इनिङ्समा सबै विकेट गुमाउँदै ११२ रन बनाएको थियो। बागमतीका ओपनर इशान पाण्डेले सर्वाधिक ७१ रन बनाएका थिए।
९४ बल खेलेका उनले १० चौका प्रहार गरे। यस्तै, प्रतिश श्रेष्ठले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
पुलिसका ललितनारायण राजवंशीले सर्वाधिक चार विकेट लिए। ९ ओभर बलिङ गरेका उनले दुई मेडनसहित २७ रन खर्चिए। श्रवन यादवले तीन र कुशल भुर्तेलले दुई विकेट लिए।
जवाफी ब्याटिङका आएको पुलिसले सबै विकेट गुमाउँदै २१५ रन बनायो। अमृतले सर्वाधिक ७९ रन बनाए। १० चौका र दुई छक्का उनले प्रहार गरे। यस्तै, अर्जुनले ८२ बलमा आठ चौका र दुई छक्कासहित ७७ रन बनाए। गुलशनकुमार झा १७ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बागमतीका सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए। ११.५ ओभर बलिङ गरेका उनले तीन मेडनसहित ६५ रन खर्चिए। प्रतिश जिसी र नन्दन यादवको नाममा समान दुई विकेट रहँदा रिजन ढकालले एक विकेट आफ्नो नाममा लेखाए।
पहिलो इनिङ्समा पुलिसले १०३ रनको अग्रता लिएको थियो। दोस्रो इनिङ्समा बागमतीले चार ओभर खेल्दै आठ रन बनाउँदा स्टम्पको घोषणा गरिएको थियो। दोस्रो दिन इशान पाण्डेले तीन र ऋत गौतमले पाँच रनबाट ब्याटिङ सुरु गर्नेछन्।