काठमाडौं। विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपिएफले एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्डको प्लेअफमा स्थान लगभग पक्का गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार सम्पन्न खेलमा एपिएफले आर्मीलाई ३-१ ले हराएको हो। लगातार चौथो जितसँगै शीर्ष स्थानमा रहेको एपिएफले १२ अंक पुर्याएको छ। आर्मी र पुलिसको भने समान खेलबाट सात अंक छ।
डबल राउन्ड रोबिनमा भइरहेको फाइनल राउन्डमा चार खेल बाँकी रहँदा बागमती युथ क्लबले तीन अंक जोडेको छ भने वालिङ नगरपालिका अंकविहीन छ।
यस फाइनल राउन्डबाट चार टोली प्लेअफमा पुग्नेछन्। पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो। तर, ६०औं मिनेटमा निशा थोकरको गोलसँगै एपिएफले सुरुआती अग्रता लियो। त्यसको १० मिनेटपछि नै विमला थापाले आर्मीलाई खेलमा फर्काइन्।
तर, एपिएफले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै जित पक्का गर्यो। ८५औं मिनेटमा कप्तान अनिता बस्नेत र ९०औं मिनेटमा प्रीति राईले एपिएफका लागि गोल गरेका हुन्।