काठमाडौं। भारतका पूर्वक्रिकेटर मनोज तिवारीले आइपिएल रेकर्डका आधारमा गौतम गम्भीरलाई भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गर्नु गलत भएको बताएका छन्। टी–२० विश्वकपपछि राजीनामा दिएका राहुल द्रविडको स्थानमा गम्भीरलाई जुलाई २०२४ मा भारतको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको थियो।
गम्भीरको कार्यकालमा भारतले सन् १९९७ पछि श्रीलंकामा पहिलो एकदिवसीय शृंखला गुमाएको थियो। रोहित शर्माको कप्तानीमा रहेको भारतले न्युजिल्यान्डविरुद्धको घरेलु टेस्ट शृंखलामा ३–० को हार बेहोरेको थियो भने सन् २०१५ पछि पहिलो पटक अस्ट्रेलियाविरुद्धको टेस्ट शृंखला गुमाएको थियो।
‘आइपिएलको नतिजा हेरेर मात्र उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्नु गलत थियो। मेरो विचारमा यो सही निर्णय थिएन। केकेआरको कायापलटका लागि अन्य पनि श्रेयका हकदार छन्,’ उनले भने।
दुई पटकको विश्वकप विजेता गम्भीर भारतीय प्रशिक्षकको पहिलो रोजाइमा नपरेको दाबी गरिएको थियो। तिवारीले यस विषयमा आफ्नो धारणा राख्दै भीभीएस लक्ष्मण र साईराज बाहुतुले भारतीय प्रशिक्षकका लागि अग्रपङ्क्तिमा रहँदा गम्भीरको नाम कसरी मध्यभागमा आयो भनेर प्रश्न गरे।
‘मलाई लाग्छ, भीभीएस लक्ष्मण र साईराज निकै महत्वपूर्ण छन्। यी दुई मुख्य प्रशिक्षक बन्ने लाइनमा थिए। र यी दुई धेरै वर्षदेखि एनसिएसँग छन्। जब राहुल द्रविड उपलब्ध थिएनन्, अर्को प्रशिक्षक स्वत: छनोट थियो। त्यसैले त्यो प्रक्रिया अपनाइँदै थियो। यसबीचमा गम्भीर कसरी आए, कसैलाई थाहा छैन,’ उनले भने।
तिवारीले आइपिएलमा कोलकाता नाइट राइडर्सले हालै हासिल गरेको सफलताको श्रेय पनि गम्भीरलाई दिन नहुने बताए।