काठमाडौं। ग्राहाम पोटरको नेतृत्वमा वेस्ट ह्यामको डेब्यू खेल निराशाजनक र विवादास्पद रह्यो। शुक्रबार एफए कपको तेस्रो चरणमा एस्टन भिल्लाले २–१ को जित निकाल्दै वेस्ट ह्यामलाई प्रतियोगिताबाट बाहिरिन बाध्य बनायो।
यो खेल मुख्य रूपमा मोर्गन रोजर्सको विजयी गोलअघि भएको विवादास्पद निर्णयका लागि सम्झिनेछ। खेलको नवौं मिनेटमा लुकास पाक्वेटाले वेस्ट ह्यामलाई सुरुआती अग्रता दिलाए। तर, ७१औं मिनेटमा अमाडु ओनानाले गोल गर्दै भिल्लालाई बराबरीमा फर्काए।
७५औं मिनेटमा रेफ्रीले भिल्लालाई कर्नर प्रदान गरे, जुन निर्णय विवादास्पद मानिएको थियो। ओनानाको प्रहार वेस्ट ह्यामका खेलाडीलाई नछोइकन सीधा बाहिर गएको थियो। भिडियो रिप्लेमार्फत पनि स्पष्ट देखिएको थियो। तर, रेफ्रीले गोलकिकको सट्टा कर्नर दिएका थिए।
कर्नरपछि बल क्लियर भएको थियो। तर, ओली वाटकिन्सले बल पुनः बक्सभित्र पठाए, जसमा मोर्गन रोजर्सले निर्णायक गोल गरे।
स्वान्सी, ब्राइटन र चेल्सीका पूर्वप्रशिक्षक पोटरले दुई वर्षपछि प्रशिक्षणमा फर्किँदै यस साता जुलेन लोपेटेगुइलाई प्रतिस्थापन गरेका थिए।
तर, खेलमा राम्रो सुरुआत गरे पनि उनको टोलीले धेरै बल पकड गुमायो। अन्ततः एफए कप १९५७ यता पहिलोपटक जित्ने लक्ष्यसहित भिल्ला चौथो चरणमा प्रवेश गरेको छ।