काठमाडौं। स्पेनको सरकारले बार्सिलोनाका मिडफिल्डर डानी ओल्मो र फरवार्ड पाउ भिक्टरलाई खेल्न अनुमति दिने निर्णय गरेको छ। स्पेनिस लिगले यी दुई खेलाडीलाई दर्ता गर्न अस्वीकार गरेपछि सरकारले यस्तो निर्णय गरेको हो।
बार्सिलोनाले लिगको निर्णयविरुद्ध स्पेनको उच्च खेल परिषद्मा अपील गरेको थियो। शिक्षा तथा खेल मन्त्रालयअन्तर्गत रहने यस सरकारी निकायले प्रारम्भिक रूपमा बार्सिलोनाको पक्षमा फैसला गर्दै यी दुई खेलाडीलाई औपचारिक प्रतियोगितामा सहभागी हुन अनुमति दिएको छ। परिषद्ले यस विषयमा थप अध्ययन गरेर अन्तिम निर्णय गर्नेछ।
गत समरमा यी दुई खेलाडीलाई सन् २०२४ को अन्त्यसम्ममात्र दर्ता गरिएको थियो। तर, आर्थिक संकटग्रस्त बार्सिलोनाले वर्षको अन्त्यसम्म स्पेनिस लिगको आर्थिक नियम पूरा गर्न सकेन। बार्सिलोनाले आफ्नो कागजी प्रक्रिया पूरा नगरेपछि लिगले स्पेनिस फुटबल महासंघको निर्देशमा खेलाडीहरूको दर्ता अस्वीकार गर्यो। लिग र महासंघले संयुक्त विज्ञप्तिमा भनेका थिए, बार्सिलोनाले तलब सीमा पूरा गरे पनि निर्धारित समयसीमाभित्र दर्ता गर्न नसकेका कारण खेलाडीलाई पुन: दर्ता गर्न सकिँदैन।
बार्सिलोनाले भने नयाँ खेलाडी दर्ता गर्ने समय सीमा डिसेम्बरको अन्त्य नभइ जनवरीको अन्त्यमा रहेको जिकिर गर्दै आएको थियो। बार्सिलोनाले अन्ततः आफ्नो तलब सीमा पनि बढाउन सफल भएको छ। यसमा गत हप्ता क्याम्प नाउ स्टेडियममा विशेष भिआइपी सिट विक्रीबाट क्लबले १०० मिलियन युरो कमाएको छ।