काठमाडौं। आदित्य रानामगरको आत्मघाती गोलसँगै विभागीय टोली एपिएफले एन्फा यु–१६ युथ लिगमा पुनरागमन जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा एपिएफले चर्च ब्वोइज युनाइटेडलाई ३–२ ले हराएको हो। जारी लिगमा एपिएफको यो दोस्रो जित हो।
तीन खेल खेलेको एपिएफले सात अंक बटुलेको छ। चर्च ब्वोइजको भने यो पहिलो हार हो। समान खेल खेलेको चर्च ब्वोइजको ६ अंक छ।
२५औं मिनेटमै सनिल मगरले चर्च ब्वोइजलाई सुरुआती अग्रता दिलाएका थिए। तर, ५१औं मिनेटमा तेन्जिङ शेर्पाले एपिएफलाई खेलमा फर्काए।
६४औं मिनेटमा सुसान्त थापामगरले पुन: चर्च ब्वोइजलाई अग्रता दिलाए। तर, ६७औं मिनेटमा अविन बस्यालले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। त्यसको एक मिनेटअघि मात्रै उनी पेनाल्टीमा चुकेका थिए। ८३औं मिनेटमा आदित्य रानामगरको आत्मघाती गोलसँगै एपिएफले जित सुनिश्चित गर्यो।