काठमाडौं। आइसिसी यु-१९ महिला विश्वकप खेल्ने नेपाली टोलीको विदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै टोलीको विदाइ गरिएको हो। नेपालले एसिया छनोटको च्याम्पियन बन्दै माघ ५ देखि २० सम्म मलेसियामा हुने विश्वकपमा स्थान बनाएको थियो। प्रतियोगिताका लागि नेपाली टोली शनिबारमा मलेसियातर्फ जाने तालिका छ।
१६ टोली सहभागी हुने विश्वकपको समूह ‘डी’ मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। नेपालले माघ ५ मा बंगलादेशसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछन्।
नेपालले पूजा महतोको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरिसकेको छ। क्यानका अनुसार नेपालले पुस २९ गते वेस्ट इन्डिज र माघ २ गते अमेरिकासँग अभ्यास खेल खेल्ने छ।