काठमाडौं। प्रशिक्षकविहीन एभर्टनले बिहीबार तेस्रो डिभिजनको पीटरबरोविरुद्ध २–० को जित निकाल्दै एफए कपको चौथो चरणमा स्थान सुरक्षित गर्यो।
खेलको केही घण्टा अगाडि मात्र प्रशिक्षक सीन डाइचलाई बर्खास्त गरिएको एभर्टनले आश्चर्यजनक घोषणा गरेको थियो। अस्थायी रूपमा यु–१८ प्रशिक्षक लेटन बेन्स र क्लब कप्तान सेमस कोलम्यानलाई टोलीको जिम्मा दिइएको थियो। यो परिवर्तनले तुरुन्तै प्रभाव देखायो, जसमा बेटो र इलिमान एनडियायको गोलले इङ्लिस प्रिमियर लिगमा रेलिगेसन संकटमा रहेको क्लबलाई अर्को चरणमा पुर्यायो।
‘प्रशिक्षकले आफ्नो जागिर गुमाउनु कहिल्यै राम्रो हुँदैन। तर, सबैले आफ्नो काममा ध्यान दिनैपर्थ्यो,’ बेन्सले भने। एभर्टनलाई प्रिमियर लिगको १६औं स्थानमा छ। रेलिगेसन क्षेत्रभन्दा एक अंक माथि रहेको अवस्थामा डाइचलाई हटाइएको थियो। यो निर्णय टेक्सासस्थित फ्रिडकिन समूहले नौ पटकको इङ्लिस लिग च्याम्पियन एभर्टनको स्वामित्व लिएको एक महिनाभन्दा कम समयमा लिइएको थियो।
‘अरू सबैजस्तै हामी पनि सीनको बर्खास्तीबाट अचम्मित भयौं र उनको जाने कुराले दुःखी भयौं। उनी राम्रो व्यक्ति हुन्,’ पीटरबरोका प्रशिक्षक डेरेन फर्गुसनले भने,‘खेलकै दिन यस्तो हुनु अनौठो स्थिति थियो। मैले पहिले यस्तो अनुभव कहिल्यै गरेको थिइनँ।’
गुडिसन पार्कमा खेलको ४२औं मिनेटमा बेटोले पीटरबरोका गोलरक्षक निकोलस बिलोकापिकलाई बिट गर्दै एभर्टनलाई अग्रता दिलाए। आर्मान्डो ब्रोजाको गम्भीर खुट्टाको चोटका कारण खेलमा लामो समय थपिएको थियो। यसै क्रममा ९८औं मिनेटमा एनडियायले दोस्रो गोल गर्दै एभर्टनको जित सुनिश्चित गरे।