काठमाडौं। मिडफिल्डर जुड बेलिङ्घमको उत्कृष्ट प्रदर्शनसँगै रियल मड्रिडलाई स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ।
साउदी अरबमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा रियलले मालोर्कालाई ३-० ले पराजित गर्यो। योसँगै उपाधिका लागि रियल र बार्सिलोना भिड्ने भएका छन्।
गत सिजन रियलका शीर्ष स्कोरर रहेका बेलिङ्घमले यो सिजन केही सुस्त सुरुआत गरेका थिए। तर, पछिल्ला आठ लिग खेलमा सात गोल गर्दै आफ्नो लय फर्काएका छन्। ६३औं मिनेटमा उनले गोल गर्दै रियललाई अघि बढाए। खेलको सुरुआतदेखि नै मालोर्काले आफ्नो रक्षात्मक रणनीतिले रियललाई दबाबमा राखेको थियो।
तर, बेलिङ्घमले लगातार तीन प्रहारको क्रममा गोल गरे। रोड्रिगोको प्रहार पोस्टमा लाग्यो। किलियन एमबाप्पेको प्रहार मालोर्काका गोलकिपर डोमिनिक ग्रेफले बचाए। त्यसपछि बेलिङ्घमले रिबाउन्डमा गोलकिपर र तीन डिफेन्डरलाई छक्याउँदै सिक्स यार्ड बक्सभित्रबाट गोल गरे।
रियलले इन्जुरी समयमा थप दुई गोल गर्यो। मालोर्काका मार्टिन भाल्जेन्टले ब्राहिम डियाजको पासलाई क्लियर गर्न खोज्दा आत्मघाती गोल गरे। त्यसपछि रोड्रिगोले तेस्रो गोल थपे। खेल समाप्त भएलगत्तै मैदानमा सानो झगडा पनि भयो। बेलिङ्घमले मालोर्काका डिफेन्डर पाब्लो माफेओलाई घाँटीमा समाएपछि विवाद भएको थियो। माफेओले खेलभरि भिनिसियस जुनियरसँग तीव्र प्रतिस्पर्धा गरेका थिए।
रियल गत सिजनको लिग विजेता भएर यो प्रतियोगितामा सहभागी भएको थियो, भने मालोर्कालाई कोपा डेल रे उपविजेता टोलीका रूपमा निम्त्याइएको थियो। खेलमा रियलका पूर्वस्ट्राइकर करिम बेन्जेमाले पनि उपस्थिति जनाएका थिए। हाल उनी साउदी अरेबियन लिगमा खेल्दैछन्। यो प्रतियोगिता २०१९ देखि साउदी अरबमा आयोजना हुँदै आएको छ।