काठमाडौं। कप्तान अनिता बस्नेतको ह्याट्रिकसँगै एपिएफ क्लब एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत फाइनल राउन्डमा शीर्ष स्थानमा उक्लिएको छ।
एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न विभागीय डर्बीमा एपिएफले नेपाल पुलिस क्लबलाई ६-० ले पराजित गरेको हो। लगातार तेस्रो जित निकालेको एपिएफले तीन खेलबाट ९ अंक जोडेको छ।
पहिलो पराजय बेहोरेको पुलिसको चार खेलबाट सात अंक छ। एपिएफलाई जित दिलाउन सरु लिम्बुले दुई र रेनुका नगरकोटेले एक गोल थपे।
खेलको ११औं मिनेटमा अनिताको गोलमार्फत एपिएफले अग्रता लिएको थियो। ३७औं मिनेटमा रेनुकाले टोलीको अग्रता दोब्बर बनाइन्। ८६ र ८७औं मिनेटमा सरुले गोल गर्दा एपिएफको अग्रता ४-० मा पुगेको थियो। इन्जुरी समयमा दुई गोल गर्दै अनिताले ह्याट्रिक पूरा गरिन्।