काठमाडौं। रियल मड्रिडले आफ्नो मुख्य खेलाडीहरूलाई विश्राम दिँदै सोमबार चौथो डिभिजनको डेपोर्टिभो मिनेरामाथि ५-० को फराकिलो जित हासिल गरेको छ। योसँगै रियलले कोपा डेल रेको अन्तिम १६ मा स्थान बनाएको छ।
भिनिसियस जुनियर, किलियन एम्बाप्पे, जुड बेलिङ्हम र गोलकिपर फेरल्यान्ड मेन्डी बेन्चमै रहेको बेला प्रशिक्षक कार्लो एन्सेलोटीले १७ वर्षे डिफेन्डर डिएगो अगुआडोलाई डेब्यु मौका दिए। डिएगो आफ्ना दाइ लोरेन्जोसँग रक्षा पंक्तिमा उभिए।
एन्द्रिक, ब्राहिम डियाज र आर्दा गुलरले अग्रपंक्तिमा दुर्लभ अवसर पाए। खेल सुरु भएको चार मिनेटमै फेडेरिको भाल्भेर्डेले भल्लीमार्फत गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए। १२ औं मिनेटमा एडुआर्डो कामाभिङ्गाले हेडिङ गर्दै दोस्रो गोल गरे भने १५ मिनेटपछि गुलरको प्रहारमा हल्का डिफ्लेक्सन हुँदा तेस्रो गोल सम्भव भयो।
मिनेराले अघिल्लो चरणमा ला लिगा टोली अलाभेसलाई हराउँदै अन्तिम ३२ मा स्थान बनाएको थियो। तर, यो पटक २० पटक कोपा डेल रे जितिसकेको रियलजस्तो बलियो टोलीसँग पुनरागमन असम्भवजस्तै देखियो।
दोस्रो हाफमा प्रशिक्षक एन्सेलोटीले भिनिसियस र एम्बाप्पेलाई मैदानमा उतारे। कप्तान लुका मोड्रिचले दोस्रो हाफको नौ मिनेटमा चौथो गोल गरे भने गुलरले खेल समाप्त हुन दुई मिनेट बाँकी रहँदा पाँचौं गोल थपे।