काठमाडौं। रश्मिकुमारी घिसिङको ह्याट्रिकसँगै विभागीय टोली एपिएफले एन्फा महिला लिग फाइनल राउन्डमा वालिङ नगरपालिकविरुद्ध प्रभावशाली जित निकालेको छ।
तीन दिन अघि मात्रै अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग ५–० को हार बेहोरेको वालिङले यसपल्ट एपिएफसँग चार गोल बढी खाएको हो।
वालिङको लिगमा यो लगातार दोस्रो हार हो। एपिएफको भने यो लगातार दोस्रो जित हो। एपिएफले बागमती युथ क्लबलाई ५–१ ले पाखा लगाएको थियो।
खेलको तेस्रो मिनेटमै रश्मिको गोलमार्फत एपिएफले सुरुआती अग्रता लिएको थियो। त्यसको दुई मिनेटमै गीता रानाले अर्को गोल थपिन्। वालिङ सम्हालिन नपाउँदै रश्मिले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन्। १६औं मिनेटमा वालिङकी डिफेन्डर पुष्पाकुमारी खड्का आफ्नै पोस्टमा गोल गरेसँगै एपिएफले ४–० को अग्रता लिएको थियो। त्यसको एक मिनेटमै रश्मिले अर्को गोल थप्दै ह्याट्रिक पूरा गरिन्।
३१औं मिनेट सरु लिम्बू र ४२औं मिनेटमा गीताले गोल गरेपछि एपिएफले पहिलो हाफमै ७–० को अग्रता लिएको थियो। दोस्रो हाफमा भने वालिङले डिफेन्समा सुधारिएको प्रदर्शन गर्दा एपिएफले दुई गोलभन्दा बढी निकाल्न सकेन। ७७औं मिनेटमा रश्मि र ९१औं मिनेटमा अनिता केसीले गोल गर्दै एपिएफलाई सहज र सानदार जित दिलाए।