काठमाडौं। कप्तान पेम्बा तामाङको ह्याट्रिकसँगै संकटा फुटबल क्लबले एन्फा यु–१६ लिगमा पहिलो जित हासिल गरेको छ।
पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडसँग २–१ ले पराजित भएको संकटाले एफसी खुमलटारविरुद्ध पुनरागमन गरेको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमबार सम्पन्न खेलमा संकटालाई ४–१ को जित दिलाउन पेम्बा एक्लैले तीन गोल गरे। यस्तै, एक गोल भने एलसन राईले थपे। खुमलटारका सूर्य थापामगरले गरेको गोल भने सान्त्वना बन्यो।
पहिलो हाफमै एनलस र पेम्बाले गोल गर्दै संकटालाई २–० को अग्रता दिलाएका थिए। ६७औं मिनेटमा पेम्बले अर्को गोल थपे। त्यसको दुई मिनेटपछि नै सूर्यले गोल गर्दै खुमलटारलाई ३–१ को स्थितिमा ल्याएका थिए।
तर, अर्को मिनेटमै पेम्बाले गोल गर्दै ह्याट्रिक मात्रै पूरा गरेनन् ४–१ को सानदार जितसमेत दिलाइदिए।