काठमाडौं। स्पेनिस ला लिगा र फुटबल संघ (एफए) ले बार्सिलोनाले डानी ओल्मो र पाउ भिक्टोरलाई दर्ता गर्न गरेको अनुरोध अस्वीकार गरेको छ।
सन् २०२४ को अन्त्यसम्ममा मात्र खेलाडी दर्ता भएका थिए र बार्सिलोनाले वर्षको अन्त्यसम्म लिगका वित्तीय फेयर प्ले नियम पूरा गर्न असफल भएको थियो। लिग र एफएले संयुक्त विज्ञप्ति जारी गर्दै भनेको छ- बार्सिलोनाले अन्ततः तलब क्यापको नियम पूरा गर्न सफल भए पनि समयसीमा छुटेकाले खेलाडी दर्ता गर्न मिल्ने छैन।
प्रशिक्षक ह्यान्सी फ्लिकले कोपा डेल रेमा चौथो डिभिजन क्लब बारबास्ट्रोमाथि ४–० को जितपछि ओल्मोसँग कुराकानीको गरेका थिए, जहाँ उनले आफू बार्सिलोनामा खेल्न चाहने इच्छा व्यक्त गरे। फ्लिकले भने, ‘डानी बार्साका लागि खेल्न चाहन्छन्। हामीलाई उनको आवश्यकता छ र पाउ भिक्टरको पनि। उनीहरू दुवै उत्कृष्ट खेलाडी हुन्। हामीले पर्खनु पर्नेछ। अहिले हामीले गर्न सक्ने एक मात्र काम यही हो।’
बार्सिलोनाले फेरि अदालतको सहारा लिने अपेक्षा गरिएको थियो। तर, यसका अघिका प्रयास असफल भएका थिए। नयाँ खेलाडी दर्ता गर्ने समयसीमा जनवरीको अन्त्यसम्म हुनुपर्ने र ट्रान्सफर विन्डो बन्द हुने समय अवधी अन्त्यसम्म नभएको बार्सिलोनाले तर्क गरेको छ। बार्सिलोनाले नयाँ क्याम्प नोउ रंगशालामा भिआइपी सिट १० करोड युरो (१० करोड ३० लाख अमेरिकी डलर) मा बेचेको छ। उक्त रकम भुक्तानी पाएपछि आफ्नो तलब सीमा बढाउन क्लब सफल भएको हो।
प्रत्येक ला लिगा क्लबको तलब क्याप क्लबको राजस्व, लागत र ऋण लगायतका कारकहरूमा आधारित हुन्छ, जुन क्लबको कुल राजस्वको लगभग ७० प्रतिशत बराबर हुन्छ। पछिल्लो समयमा आफ्नो आर्थिक समस्याका कारण बार्सिलोनालाई नयाँ खेलाडी दर्ता गर्न समस्यामा पारेको छ। यसले गर्दा बार्सिलोनाले भविष्यका टेलिभिजन अधिकारहरूको बिक्री जस्ता वित्तीय उपायहरूको सहारा लिएको छ। आर्थिक अवस्थाका कारण सन् २०२१ मा लिओनल मेसीले क्लब छोडेका थिए।