काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र झापा ११ ले सिक्किमस्थित जोरथाङ रंगशालामा हुने १०औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकप फुटबलमा प्रतिस्पर्धा गर्ने भएको छ ।
भारत, नेपाल र भुटानका दर्जन टिम सहभागी नकआउट प्रतियोगितामा चर्च ब्वाइजले सीधै क्वार्टरफाइनल खेल्नेछ भने झापा ११ अन्तिम १६ बाटै मैदानमा ओर्लनेछ । चर्च ब्वाइजले नाम्ची युनाइटेडविरुद्ध जर्ज टेलिग्राफ (कोलकाता) को विजेताविरुद्ध १५ जनवरीमा खेल्नेछ ।
‘बी’ डिभिजन लिग खेल्ने तयारीमा रहेको झापा ११ ले प्रारम्भिक चरणमै जिटिए ११ (दार्जिलिङ) विरुद्ध १२ जनवरीमा प्रतिस्पर्धा गर्नेछ । त्यसमा जित हात पार्न सके झापाले ट्रन्सपोर्ट युनाइटेड (भुटान) विरुद्ध क्वाटरफाइनलमा भिड्नेछ । चर्च ब्वाइजका व्यवस्थापक अशोक थापाकाअनुसार २१ जनवरीमा हुने फाइनलको विजेताले भारु २० लाख प्राप्त गर्नेछ ।
चर्च ब्वाइजले गत नोभेम्बरमा सिक्किमकै गान्तोकस्थित पाल्जोर रंगशालामा ४०औं अल इन्डिया गभर्नर्स गोल्डकप पनि खेलेको थियो । सीधै अन्तिम आठमा खेल्ने मौका पाएको चर्च ब्वाइजलाई पहिलो खेलमै चेन्नाई एफसीको रिजर्व टिमले १–० ले हराएको थियो । फाइनलमा गान्तोक हिमालयनलाई पराजित गर्दै नर्थइस्ट युनाइटेडको रिजर्व टिमले उपाधि जितेको थियो ।
यसै महिना चर्च ब्वाइजले झापा कप (बिर्तामोड) र फाल्गुनन्द गोल्डकप (फिदिम, पाँचथर) को उपाधि जितेको । उसले इलाम गोल्डकपको फाइनलमा भने न्युरोड टिम (एनआरटी) विरुद्ध हार बेहोरेको थियो ।