निजगढ। मधेश प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पुस चौथो हप्ताबाट सुरु हुने भएको छ। मधेश प्रदेश क्रिकेट संघले शनिबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो।
मधेशका आठ जिल्लालाई दुई समूहमा विभाजन गरेर प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो। प्रतियोगिताको लागि समूह ए मा बारा, रौतहट, सर्लाही र महोत्तरी जिल्ला छन्। अर्को समूहमा पर्सा, धनुषा, सिराहा र सप्तरी छन्। पुस २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेल कलैयास्थित सिद्धेश्वर क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा पुस ६ गते बारा र सर्लाहीबीच प्रतिस्पर्धा हुनेछ। लिग चरणको अंक तालिकामा पहिलो र दोस्रो स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेटेर प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता खेल्ने मधेश प्रदेशको टोली छनोट गरिनेछ।