काठमाडौं। भारत र अस्ट्रेलियाबीच सिड्नीमा भइरहेको पाँचौं टेस्टमा रोहित शर्मा खेलिरहेका छैनन्। उनी प्लेइङ इलेभेनमा नभएपछि धेरै प्रश्न उठेका छन्। उनले शनिबार स्टार स्पोर्ट्ससँग कुरा गर्दै भने, ‘मैले सन्न्यास लिएको छैन।’
रोहितले सिड्नी टेस्टमा खराब फर्मका कारण आफूले आराम लिएको बताए। ‘यो निर्णय लिन गाह्रो थियो, तर टोलीको हितमा लिइएको हो। टोलीमा कसलाई राख्ने या नराख्ने भन्ने हाम्रो निर्णय हो। अरू कसैले निर्णय गर्न सक्दैन,’ उनले भने। भारतीय कप्तान रोहित बोर्डर-गावस्कर ट्रफीमा ‘फ्लप’ भएका छन्। उनले तीन टेस्टको पाँच इनिङ्समा ३१ रन मात्र बनाउन सके। उनको औसत ६.२० छ।
सन् २०२४ मा उनले २४.७६ को औसतमा १३१ रन मात्र बनाउन सकेका थिए। लगातार ‘फ्लप’ भएसँगै सिड्नी टेस्टमा भारतको कप्तानी जसप्रित बुमराहले गरिरहेका छन्। रोहितले स्थानमा मुख्य प्रशिक्षक गौतम गम्भीरले शुभमन गिललाई मौका दिएका छन्।
रोहित शर्माले भने, ‘चार–पाँच महिनाअघि मेरो कप्तानी र मेरो विचारले धेरै राम्रो काम गरेको थियो। अचानक यी कुरालाई नराम्रो भन्न थालियो। आज रन बनिरहेको छैन। तर, भविष्यमा पनि रन बनाउन सक्दैन भनेर ग्यारेन्टी दिन मिल्दैन।’
रोहितको भनाइ यस्तो छ
प्रशिक्षक र छनोटकर्तासँग मेरो कुराकानी एकदमै सरल थियो। मैले रन बनाएको थिएन, म फर्ममा छैन र यो महत्त्वपूर्ण खेल हो। त्यसैले हामीलाई फर्ममा रहेका खेलाडी चाहिन्छ। यो साधारण पक्ष मेरो दिमागमा चलिरहेको थियो। त्यसैले मैले प्रशिक्षक र छनोटकर्तालाई म यसरी सोचिरहेको छु भनेर बताउनुपर्छ भन्ने लाग्यो। उहाँहरूले मेरो निर्णयलाई समर्थन गर्नुभयो।
म धेरै वर्षदेखि खेल्दै आएको छु। मलाई थाहा छ के गर्ने र के नगर्ने। यो मेरो लागि कठिन निर्णय थियो। तर, यो एक बुद्धिमानी निर्णय पनि हो। म धेरै अगाडि सोच्न चाहन्न। अहिले टोलीलाई के चाहिन्छ भनेर सोच्नुपर्ने कुरा थियो। मैले यहाँ पुगेपछि मात्र सिड्नी टेस्टबाट बाहिर रहने निर्णय लिएको थिएँ। किनभने मेलबर्न टेस्टपछि कम समय (तीन दिनको अन्तर) थियो। त्यो पनि एक दिन नयाँ वर्ष रह्यो। म नयाँ वर्षमा यो निर्णयबारे प्रशिक्षक र छनोटकर्तालाई बताउन चाहन्न थिएँ। तर, मेरो दिमागमा के चलिरहेको थियो कि म मेहनत गरिरहेको छु तर प्रदर्शन गर्न सकिरहेको छैन।
धेरै टाढाबाट आएको छु। म बाहिर बस्न आएको होइन। म मेरो टोलीका लागि खेल्न र खेल जित्न आएको हुँ। यो सन् २००७ मा पहिलो पटक ड्रेसिङ रुममा आएदेखि नै चलिरहेको छ, मैले आफ्नो टोलीका लागि खेल जित्नुपर्छ। कहिलेकाहीँ टोलीलाई के चाहिन्छ भनेर आफैंले बुझ्न आवश्यक हुन्छ। यदि टोलीलाई अगाडि बढाउनुभएन भने, त्यहाँ कुनै अर्थ रहँदैन।
माइक, पेन वा ल्यापटप बोकेर मान्छेको बोलीले जिन्दगी बदलिदैन। मैले कहिले सन्न्यास लिने, कहिले बाहिर बस्ने, कहिले कप्तानी लिने भन्ने कुरा उनीहरूले तय गर्न पनि होइन। म एक समझदार मान्छे र दुई छोराछोरीको पिता हुँ। त्यसैले मलाई थाहा छ कहिले के गर्ने। हामीले क्रिकेटमा यो धेरै पटक देखेका छौं कि जीवन हरेक मिनेट, प्रत्येक सेकेन्ड र हरेक दिन परिवर्तन हुन्छ। त्यसैले म आफैंमा विश्वास गर्छु।