निजगढ। मधेस प्रदेशले हरिशंकर साहको कप्तानीमा जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेट प्रतियोगितामा खेल्ने भएको छ। मधेश प्रदेश क्रिकेट संघले शुक्रबार साहको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
सेतो जर्सी तथा रातो बलको प्रयोगमा खेलिने प्रतियोगिता पुस २१ गतेदेखि जनकपुरमा सुरू भएर माघ ३ गते वीरगञ्जको नारायणी रंगशालामा फाइनल खेल हुनेछ।
गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका शीर्ष चार टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेस प्रदेशले सहभागिता जनाउने छन्।
प्रधानमन्त्री कपको फाइनलमा आर्मीलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको थियो। यस्तै, समूह चरणमा बागमती र मधेस प्रदेशले समान १२ अंक जोड्दै शीर्ष चार स्थान हात पारेका थिए। इलिट कपका लिग चरणका खेल दुई दिवसीय ढाँचामा हुनेछ। यस्तै, फाइनल खेल तीन दिवसीय ढाँचामा सञ्चालन गरिने क्यानले जनाएको छ।
प्रतियोगिताको लिग चरणमा मधेशले पुस ५ गतेदेखि ६ गते जनकपुरधाममा बागमती प्रदेशसँग उद्घाटन खेल खेल्नेछ। पुस ८ गतेदेखि ९ गते वीरगञ्जमा नेपाल पुलिस क्लबसँग र पुस ११ गतेदेखि १२ गतेसम्म वीरगञ्जमा त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
लिग चरणको उत्कृष्ट २ टोलीले फाइनल खेल खेल्नेछ। प्रतियोगिता आयोजना हुने जनकपुरस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय रंगशाला र वीरगञ्जको नारायणी रंगशालाको पिच र मैदान निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
प्रतियोगिताको सञ्चालनका लागि नेपाल क्रिकेट संघ (क्यान) ले मधेश प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुबाष जैसवाललाई टुर्नामेन्ट डाइरेक्टर नियुक्त गरेको छ।
मधेश टिम
हरीशंकर साह ( कप्तान ), अभिषेक तिवारी ( उपकप्तान ), नीरजकुमार यादव, रुपेश सिंह, मयन यादव, साहील पटेल, भुलवन सहनी, विशाल पटेल, रन्जित कुमार, राजेश यादव, प्रदीप पासवान, अफ्रुद्दिन राइन, हिमान्शु दत्त, राहुल मण्डल र सैलेन्द्र साह।
रिजर्भ
अरनिको यादव,विशाल सुस्लिङ,राज पटेल र सफवन अली।