काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल युएईसंग ३ विकेटले पराजित भएको हो ।
दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा नेपालले दिएको ११४ रनको लक्ष्य युएईले ३२ ओभर १ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।
युएईको जितमा गुलाम सब्बीरले ३० रन जोडे । यस्तै अमीर हायतले अविजित २४ तथा इमरान हेदरले अविजित १८ रन जोडे । नेपालका लागि कप्तान पारस खड्का, सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३३ ओभर ५ बलमा अलआउट हुँदै ११३ रनमा समेटिएको थियो ।
खराब ब्याटिङ प्रदर्शन गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाएका थिए । यस्तै आरिफ शेखले २५ रन जोड्दा कप्तान पारस खड्काले २० रन बनाए । सन्दीप लामिछाने १५ रनमा आउट भए ।
त्यस्तै विनोद भण्डारीले ५, पवन सर्राफले ४, करण केसीले ३ रन जोडेर आउट भए । ललित नारायण राजवंशी २ रनमा अबिजेत रहे । नेपालका ओपनर ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र बसन्त रेग्मी खाता नखोली सुन्य रनमा आउट भए ।
नेपाललाई सस्तैमा समेट्न युएईका मोहमद नाभिद र अमीर हायतले ३/३ विकेट लिए । यस्तै इमरान हेदरले २ विकेट लिए ।
जितसंगै युएईले नेपालविरुद्धको ३ खेलको सिरिजमा १ - ० ले अग्रता बनाएको छ । अब नेपालले घरेलु टोलीसंग शनिबार दोस्रो एकदिवसीय खेल खेल्नेछ । नेपालले घरेलु टोलीसंग एकदिवसीय सिरिजपछि तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि नेपाल दोस्रो एकदिवसीय सिरिज खेल्न युएई पुगेको हो । यसअघि नेपालले पहिलो एकदिवसीय नेदरल्याण्डसंग खेलेको थियो ।