काठमाडौं। भारतका पूर्व क्रिकेटर सुनील गावस्कर र रवि शास्त्रीले बक्सिङ डे टेस्ट सम्भवतः रोहित शर्माको अन्तिम टेस्ट भएको बताएका छन्। ३७ वर्षीय रोहितले पाँचौं टेस्टमा आराम गर्ने निर्णय गरेका छन्। रोहितले तीन टेस्टको पाँच इनिङमा ३१ रन मात्र बनाउन सके।
'यसको अर्थ यदि भारत विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न सकेन भने मेलबर्न टेस्ट रोहितको अन्तिम टेस्ट हुनेछ,' गावस्करले पहिलो दिनको खेलको क्रममा लन्च ब्रेकका क्रममा भने।
विश्व टेस्ट च्याम्पियनसिपको चक्र इंग्ल्यान्डविरुद्धको शृंखलाबाट सुरु हुनेछ र छनोकर्ताहरूले सन् २०२७ को फाइनल खेल्न सक्ने खेलाडीको खोजी गर्नेछन्। भारत त्यहाँ पुग्छ कि पुग्दैन भन्ने कुरा अझै अनिश्चित छ। रवी शास्त्रीको विचार पनि उस्तै थियो। उनले भने, 'मैले टस गर्नुअघि नै जसप्रित बुमराहले कप्तान आउट रहने निर्णय गरेको र शुभमन गिललाई खेलाएर टिमलाई बलियो बनाउने बताएका थिए। यो तब हुन्छ जब तपाईंको रन बनिरहेको छैन र मानसिक रूपमा फिट हुनुहुँदैन। कप्तानको यो निकै साहसिक निर्णय थियो,' उनले भने।
शृंखलामा भारत १–२ ले पछि परेको छ र बोर्डर गावस्कर ट्रफी कायम राख्न कुनै पनि हालतमा सिड्नी टेस्ट जित्नैपर्छ। यदि टोली पराजित भयो भने विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा पुग्ने सबै आशा समाप्त हुनेछ। भारतले आफ्नो अर्को टेस्ट शृंखला जुनमा खेल्नेछ।
शास्त्रीले भने, 'यदि घरेलु शृंखला चलिरहेको भए उनले अझै खेल्नेबारे सोच्न सक्थे। तर, मलाई लाग्छ उनले यो टेस्टपछि सन्न्यासको घोषणा गर्नेछन्। भारतीय टोलीमा युवा खेलाडीको कमी छ भन्ने पनि होइन। धेरै प्रतिभाशाली खेलाडीहरू टोलीमा आउने आतूर छन्। यो कठिन निर्णय हो, तर एक दिन सबैले त्यो निर्णय लिनुपर्छ।'