काठमाडौं। अस्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टेस्टमा खराब सुरुआत (१७/२) पछि भारतले पुनरागमनको बाटो समातेको थियो। तर, कुनै पनि ब्याटले खेल्न सकेनन्। जसका कारण भारतले पहिलो इनिङ्समा सबै विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो।
कार्यवाहक कप्तान जसप्रित बुमराहले टस जितेर ब्याटिङ रोजेका थिए। तर, ऋषभ पन्तले बाहेक अन्यले ब्याट चलाउन सकेनन्। पन्तले ९८ बलमा ३ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ४० रन बनाए। ओपनरसँगै विराट कोहली र रविन्द्र जडेजाजस्ता अनुभवी ब्याटर पनि फ्लप भए।
जडेजा २६ रन बनाएर आउट भए। कोहलीले १७ रनको योगदान दिए। नियमित कप्तान रोहित शर्माले खेलबाट आराम गर्ने निर्णय गरे। बुमराहले भने, 'हाम्रो कप्तानले नेतृत्व क्षमता देखाएर यो खेलबाट आराम लिएका हुन्। लय गुमाएका रोहितको स्थानमा शुभमन गिलले प्लेइङ ११ मा स्थान दिइएको थियो। गिलले २० रन बनाए।
अस्ट्रेलियाका स्कट बोल्यानले ४ र मिचेल स्टार्कले ३ विकेट लिए। प्याट कमिन्सले २ विकेट लिए। एक विकेट नाथन लियोनको नाममा रह्यो।
भारतले यो टेस्ट जित्नैपर्छ भने अस्ट्रेलियालाई शृंखला जित्नका लागि बराबरी मात्र आवश्यक छ। शृंखलामा अस्ट्रेलियाले २–१ को अग्रता लिएको छ।