काठमाडौं। नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेट प्रतियोगितामा खेल्ने भएको छ।
नियमित कप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइएल टी२० क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (युएई) जाने भएसँगै आरिफले कप्तानी जिम्मेवारी पाएका हुन्।
राष्ट्रिय टिमका अधिकांश खेलाडी रहेको पुलिसको मुख्य प्रशिक्षकमा मन्जित श्रेष्ठ छन् । उनी पुलिसकै पूर्वखेलाडीसमेत हुन्। टोलीमा आरिफसँगै कुशल भुर्तेल, करण केसी, ललित राजवंशी, गुल्सनकुमार झा, अर्जुन साउद र सागर ढकालजस्ता खेलाडी छन्।
रातो बल र सेतो जर्सीको प्रयोगमा खेलाइने प्रतियोगिता पुस २१ गतेदेखि माघ ३ सम्म हुने छ । प्रतियोगितामा पहिलो संस्करणमा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका शीर्ष चार टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेस प्रदेशले सहभागिता जनाउने छन् ।
प्रधानमन्त्री कपको फाइनलमा आर्मीलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको थियो । यस्तै, समूह चरणमा बागमती र मधेस प्रदेशले समान १२ अंक जोड्दै शीर्ष चार स्थान हात पारेका थिए । इलिट कपका लिग चरणका खेल दुई दिवसीय ढाँचामा हुनेछ । यस्तै, फाइनल खेल तीन दिवसीय ढाँचामा सञ्चालन गरिने क्यानले जनाएको छ ।
पुलिसको टोली
आरिफ शेख (कप्तान), कुशल भुर्तेल, गुल्सनकुमार झा, करण केसी, ललित राजवंशी, सागर ढकाल, अर्जुन साउद, राशिद खान, अमित श्रेष्ठ, दिलिप नाथ, श्रवण यादव, सुनिल दौल्यान, शंकर राना, अभिनाश कर्ण र दिपक सेरेला
अफिसियल
मन्जित श्रेष्ठ : मुख्य प्रशिक्षक
चित्र बहादुर विष्ट : म्यानेजर र सहायक प्रशिक्षक
विजय कुमार धिताल : एनालिस्ट