काठमाडौं। अस्ट्रेलियाका प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्डले मिचेल स्टार्क भारतविरुद्धको निर्णायक पाँचौं टेस्टका लागि फिट हुनेमा आफू आशावादी रहेको बताएका छन्।
मेलबर्नमा जारी चौथो टेस्टको पाँचौं दिनको खेलमा भारतविरुद्ध घरेलु टोली अस्ट्रेलियाले १८४ रनको शानदार जित निकालेको थियो। योसँगै पाँच खेलको शृंखलामा अस्ट्रेलियाले २–१ को अग्रता लिएको छ। अब यी दुई टोलीले अन्तिम टेस्ट शुक्रबारदेखि सिड्नीमा खेल्नेछन्।
अस्ट्रेलियाले नयाँ वर्षको टेस्ट जितेमा या बराबरी खेलेमा सन् २०१४–१५ पछि पहिलो पटक बोर्डर–गावस्कर ट्रफी पुनः प्राप्त गर्नेछ। यो जितले दक्षिण अफ्रिकाविरुद्ध जुनमा लर्ड्समा हुने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि स्थान पक्का गर्नेछ।
बायाँ हाते बलर स्टार्कले मेलबर्नमा चौथो टेस्टमा ४१ ओभर बलिङ गरेका थिए। तर, पछिल्लो चरणमा संघर्ष गर्नुपरेको थियो। म्याकडोनाल्डले कुनै पनि कल गर्नु अघि छनोटकर्ताहरूले उनी कस्तो छन् भनेर हेर्न बताएका छन्।
‘अवस्था कस्तो छ, हामी हेर्छौं,’ उनले भने। स्टार्कले मेलबर्नमा बलिङ जारी राख्नु राम्रो संकेत भएको पनि उनले बताए।