काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक हरी खड्काले भारतमा उडिसामा हुने अन्तराष्ट्रिय फुटबल प्रतियोगिताका लागि २३ सदस्यीय महिला टिमको घोषणा गरेका हुन् ।
भारतले प्रतियोगिताका लागि नेपाललाई आमन्त्रण गरेको थियो । प्रतियोगिता उडिसाको भुवनेश्वरमा फेब्रुअरी ७ देखी १७ सम्म आयोजना हुदैछ ।
प्रतियोगितामा नेपाल सहित भारत, म्यान्मार र श्रीलंका समावेश छन् ।
आसन्न साफ च्याम्पियनसिपलाई लक्षित गर्दै महिला टिमले प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेको थियो ।
नेपालले मार्च १२ देखी २२ सम्म विराटनगरमा महिला साफको आयोजना गर्दैछ ।
छनोट भएको २३ खेलाडीबाट मुख्य प्रशिक्षक खड्काले साफका लागि अन्तिम २० सदस्यीय महिला टिमको छनोट गर्नेछन् ।
गोलकिपरः एन्जिला तेम्वाप्पो सुब्वा , अन्जना राना मगर, उषा नाथ
डिफेन्डरः हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना, मन माया लिम्वु
मिडफिल्डरः विमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी,
स्ट्राइकरः अनु लामा, रेखा पौडेल , निरु थापा, सावित्रा भण्डारी, अनिता के सी