काठमाडौं। घरेलु टोली अस्ट्रेलियाले मेलबर्नमा जारी बक्सिङ डे टेस्टमा भारतलाई १८४ रनले पराजित गरेको छ। ३ ४० रनको लक्ष्य पछ्याएको भारत दोस्रो इनिङ्स १५५ रनमा समेटियो।
भारतीय टिमले तीन सेसन पनि खेल्न सकेन र ११ जना ब्याटर पभिलियन फर्किए। १३ वर्षपछि मेलबर्नमा भएको टेस्टमा भारतको यो पहिलो हार हो। यसअघि सन् २०११ मा भारतीय टोली पराजित भएको थियो। यो जितसँगै अस्ट्रेलियाले चार टेस्टपछि पाँच खेलको शृंखलामा २–१ को अग्रता लिएको छ। अब पाँचौं तथा अन्तिम टेस्ट जनवरी ३ देखि सिड्नीमा हुनेछ।
रोहित शर्माको कप्तानीमा पछिल्लो दुई महिनामा भारतले ६ टेस्ट खेलेको थियो। त्यसमा भारतको यो पाँचौं हार हो। न्युजिल्यान्डसँग ३–० ले पराजित भएको भारत एडिलेड र अहिले मेलबर्नमा पराजित भएको छ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङ्समा ४७४ रन बनाएको थियो। स्टिभ स्मिथले १४० रन प्रहार गरे। जवाफमा भारतले पहिलो इनिङ्समा ३६९ रन बनाएको थियो। २१ वर्षीय नितिश रेड्डीले अविजित १०५ रनको शतकीय इनिङ्स खेले।
पहिलो इनिङ्सको आधारमा अस्ट्रेलियाले १०५ रनको अग्रता लिएको थियो। त्यसपछि भारतले दोस्रो इनिङ्समा अस्ट्रेलियालाई २३४ रनमा समेटेको थियो। अस्ट्रेलियाको अग्रता ३३९ रनको थियो र भारतले ३४० रनको लक्ष्य पाएको थियो। तर, भारतले न त खेल जित्न सक्यो न त बराबरी नै गर्न सक्यो।
यो हारसँगै भारतको विश्व टेस्ट च्याम्पियनसिपमा पुग्ने आशामा पनि धक्का लागेको छ। अब उसले अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ। साथै सिड्नीमा हुने अर्को टेस्ट पनि जित्नैपर्ने हुन्छ। बराबरी या हारले भारतलाई दौडबाट बाहिरिनेछ।